बारामा आमाछोरा हत्याको रहस्य खुल्यो, बुहारी नै योजनाकार


बारा- बाराको परवानीपुरमा भएको आमाछोराको हत्या प्रकरणको रहस्य प्रहरीले सुल्झाएको छ । प्रहरी अनुसन्धानबाट मृतक छोराकी श्रीमतीले नै योजनाबद्ध रूपमा आफ्नै श्रीमान र सासुको हत्या गराएको खुलेको छ ।

घटनामा बुधबार मध्यराति २७ वर्षीय रामेश्वर महतो मण्डल र उनकी ४८ वर्षीया आमा सुमित्रा देवीको हत्या भएको थियो । अनुसन्धानका क्रममा रामेश्वरकी श्रीमती मनिताको योजनामा उक्त हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मनितालाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । प्रारम्भिक सोधपुछमै उनकै योजनामा दुवैको हत्या गरिएको स्वीकारोक्ति खुलेको प्रहरीको भनाइ छ ।

घटनाका क्रममा मनिताकी २० वर्षीया नन्द रीना कुमारी मण्डल र ५४ वर्षीय ससुरा जगरुप महतो गम्भीर घाइते भएका छन् । उनीहरू आक्रमणको प्रतिकार गर्ने क्रममा घाइते भएको अनुसन्धानमा खुलेको छ । दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या योजनाकार मनितासँगै उनको सहयोगी भएको आरोपमा प्रसौनी गाउँपालिका–७ बन्जरियाका २७ वर्षीय धर्मेन्द्र महतोलाई पनि पक्राउ गरेको छ । धर्मेन्द्र केही महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएको प्रहरीको भनाइ छ ।

अनुसन्धानबाट मनिता र धर्मेन्द्रबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । हत्यामा धर्मेन्द्रबाहेक अन्य व्यक्तिको समेत संलग्नता रहेको आशंका गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धर्मेन्द्रको घर मनिताको माइती नजिकै रहेको पनि खुलेको छ ।

प्रहरीका अनुसार मनिता गत साउनदेखि घर छाडेर काठमाडौंमा बस्दै आएकी थिइन् । उनी माइतीसमेत नगई काठमाडौंमा बसेकी थिइन् । मनिता र रामेश्वरका दुई छोरी छन् । मनिताले छोरीहरू घरमै छाडेर काठमाडौं गएको र मंसिरमा मात्र घर फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाको रात हत्या गर्ने उद्देश्यले आएका प्रेमी र उनका सहयोगीलाई मनिताले नै घरको पछाडिको ढोका खोलेर प्रवेश गराएको आशंका गरिएको छ । गाउँमा हल्ला फैलिएपछि छिमेकीहरू घर पुगेका बेला घरभित्र दुई जनाको शव र दुई जना गम्भीर घाइते फेला परेका थिए । घटनास्थलमा मनिता भने सकुशल अवस्थामा फेला परेकी थिइन्, जबकि उनका सहयोगीहरू फरार भइसकेका थिए । धर्मेन्द्रलाई पछि वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया