नागढुङ्गाबाट साढे २ किलो चाँदीसहित एक जना पक्राउ


काठमाडौं- प्रहरीले साढे दुई किलो चाँदीसहित नागढुङ्गाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ निवासी २५ वर्षीय किसन साह रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र. ०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा साहलाई नियन्त्रणमा लिइएको हो ।

नागढुङ्गा चेकपोइन्टमा प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले बसमा यात्रा गरिरहेका साहको शंका लागी चेकजाँच गर्दा लुकाइछिपाइ ल्याइएको १६ लाख ९० हजार रुपैयाँ बराबरको २.५ किलोग्राम चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद चाँदी बिलविजकबिनाको अवस्थामा फेला परेको हो । घटनासम्बन्धी थप अनुसन्धान प्रहरी वृत्त थानकोटबाट भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया