
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन स्थगित
तनहुँ- तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेँसीस्थित त्रिशूली नदीको किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य आजदेखि स्थगित गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार उत्खनन सुरु भएको १७औँ दिनमा प्राविधिक तथा व्यावहारिक समस्याका कारण काम रोक्ने निर्णय गरिएको हो । उनका अनुसार बसको केही भाग पानीबाट निकालिएको भए पनि बाँकी भाग निकाल्न कठिनाइ भएपछि उत्खनन कार्य स्थगित गरिएको हो ।
गत पुस २६ गते त्रिशूली नदीको किनारमा बस फेला परेपछि पुस २७ गतेदेखि उत्खनन सुरु गरिएको थियो । उत्खनन कार्यको १६औँ दिन हिजो बसको भित्री भागबाट मानव कङ्काल फेला परेको थियो । उक्त कङ्कालबारे थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।
विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो खस्दा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
उक्त बस करिब छ महिनापछि गत पुस २६ गते तनहुँतर्फ त्रिशूली नदीको किनारमा भेटिएको थियो ।



कागजपत्र |
