
युवराज सफल पक्राउ
काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति दिई गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तालाई लक्षित गर्दै विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी, अपशब्द, गालीगलौज र बेइज्जतीजनक अभिव्यक्ति दिएको पाइएको छ ।
प्रहरीका अनुसार सफलले विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने गरिएको भनी झूटा आरोप लगाउँदै भिडिओ निर्माण तथा सार्वजनिक गरेका थिए । साथै, विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा समेत आधारहीन आरोप लगाएको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।
उक्त कार्यले संस्थागत प्रतिष्ठामा आँच पुर्याएको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु गरिएको र प्रारम्भिक छानविनबाट आरोप पुष्टि हुने आधार देखिएपछि सफललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सफलमाथि विद्युतीय कारोबार ऐन तथा अन्य प्रचलित कानुनअनुसार थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



कागजपत्र |
