संरक्षित वन्यजन्तु कछुवा ओसारपसारमा संलग्न युवक पक्राउ


काठमाडौं–  अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवाको ओसारपसार तथा खरिद–बिक्रीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

वन्यजन्तुसम्बन्धी अपराध रोकथाम तथा नियन्त्रणका लागि प्राप्त विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले आइतबार ललितपुर महानगरपालिका–३ धोबिघाटबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चितवन जिल्ला, भरतपुर महानगरपालिका–१६ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–३ धोबिघाटमा बस्दै आएका १९ वर्षीय रोहिम तिवारी रहेका छन्।

प्रहरीले तिवारीको साथबाट संरक्षित वन्यजन्तु जीवित कछुवा ६ वटा बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्ति र उद्धार गरिएका कछुवालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी, ललितपुरमा बुझाइएको सीआईबीले जानकारी दिएको छ।

वन्यजन्तु संरक्षण ऐन विपरीतका यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने प्रहरीले जनाएको छ।

प्रतिक्रिया