फेक रेस्क्यू प्रकरण: ट्राभल कम्पनीका ६ सञ्चालक सीआईबीको नियन्त्रणमा


काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यूमार्फत पर्यटक ठगी र नक्कली बीमा दाबीमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरेको छ। सीआईबी प्रमुख तथा एआईजी मनोज केसीका अनुसार अदालतबाट पक्राउ अनुमति लिएर आजै ६ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्। उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिस प्रालिसँग सम्बन्धित छन्। त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक रविन्द्र अधिकारी र विवेकराज थपलिया तथा एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी पनि पक्राउ परेका हुन्।

अनुसन्धानमा माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको खुलेको छ। यसबाट कम्पनीले १० करोडभन्दा बढी अमेरिकी डलर बराबरको बीमा दाबी गरेको पाइएको छ।

त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको रेस्क्यू गरेको देखिए पनि ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ। यसबापत कम्पनीले ८२ लाख अमेरिकी डलर बराबरको दाबी गरेको अनुसन्धानबाट खुलेको छ।

एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यू गरेको पाइएको छ। उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर दाबी गरेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया