सर्लाहीमा आयुर्वेद औषधालयमा युवतीको मृत्यु, वैद्य पक्राउ


मलंगवा- सर्लाहीको नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। पाइल्सको समस्याबाट पीडित लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्।

परिवारजनका अनुसार उपचारअघि हंसुको अवस्था सामान्य थियो। तर औषधालयमा इन्जेक्सन लगाएपछि अचानक स्वास्थ्य बिग्रिएको र केही समयपछि पुनः अर्को इन्जेक्सन लगाएसँगै अवस्था झन् जटिल बन्दै गएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको पीडित पक्षको दाबी छ।

बिरामीको अवस्था गम्भीर भएपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजामसमेत गरेका थिए।

प्रहरीका अनुसार अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ र सडक खुलाउने प्रयास भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया