सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री


काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा भ्रम फैलाउने गतिविधि गर्नेविरुद्ध कारबाहीका लागि आदेश कुर्नु नपर्ने बताएका छन्।

काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरी साइबर ब्युरो पुगेर उनले त्यहाँ कार्यरत कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतिक्षा गर्नु नपर्ने स्पष्ट निर्देशन दिएका छन्।

गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न साइबर ब्युरोलाई सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनविपरीत तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म अनुगमन गर्न पनि निर्देशन दिएका छन्।

साथै उनले मिथ्या सूचना प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै निर्वाचनलाई दृष्टिगत गरी साइबर ब्युरोलाई अझ सक्रिय हुन निर्देशन दिएका छन्।

प्रतिक्रिया