डडेल्धुरामा गगनले नैनसिंहलाई टिकट दिएपछि देउवा निकट थापाको स्वतन्त्र उम्मेदवारी


डडेल्धुरा-  नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट मानिने युवा नेता बिरेन्द्र थापाले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । पार्टी सभापति गगन थापाले डडेल्धुरामा नैनसिंह महरलाई टिकट दिएपछि असन्तुष्ट बनेका थापाले स्वतन्त्र रूपमा निर्वाचनमा होमिने निर्णय गरेका हुन् ।

थापाले अदालतमा मुद्दा टुंगो नलागेको अवस्थामा नैनसिंह महरले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँग कुनै छलफल नगरी टिकट लिएको आरोप लगाएका छन् । उनका अनुसार महरको उम्मेदवारी प्रक्रियागत रूपमा नै मिलेको छैन ।

“नैनसिंह दाइलाई टिकट दिइएको छ, तर हाम्रो सभापति शेरबहादुर देउवा हुनुहुन्छ । मुद्दा अझै टुंगो लागेको छैन । यस्तो अवस्थामा उहाँको टिकट प्रक्रियागत रूपमा मिलेको छैन,” थापाले भने ।

डडेल्धुराको परशुराम नगरपालिका–१२ का बासिन्दा थापा लामो समयसम्म शेरबहादुर देउवाको सचिवालयमा कार्यरत रहिसकेका व्यक्ति हुन् । स्वतन्त्र उम्मेदवारी घोषणासँगै डडेल्धुराको कांग्रेस राजनीतिमा थप तरंग सिर्जना भएको छ ।

प्रतिक्रिया