
अहिलेसम्म कांग्रेसका क-कसले पाए टिकट ?
काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया तीव्र पारेका छन्। निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै उनले सोमबारदेखि हिमाली तथा उच्च पहाडी जिल्लाबाट टिकट वितरण सुरु गरेका हुन्।
सभापति थापाले देउवा र शेखर कोइराला समूहका नेतासँग छलफलपछि टिकट बाँड्न थालेका हुन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा उनी स्वयंले हस्ताक्षर गरेका छन्।
थापाले अछाम–१ बाट भरतकुमार स्वाँर र अछाम–२ बाट पुष्पबहादुर शाहलाई उम्मेदवार बनाएका छन्। अछाम–१ मा भीम रावल (नेकपा) र दीपक साउद (एमाले) प्रतिस्पर्धी छन् भने अछाम–२ मा पुष्पबहादुर शाहले भूपदेव शाहसँग चुनावी प्रतिस्पर्धा गर्नेछन्।
बाजुराबाट जनक गिरीलाई उम्मेदवार बनाइएको छ। उनी एमालेका लालबहादुर थापा र नेकपाका प्रकाश शाहसँग भिड्नेछन्।
प्युठानबाट डा. शेखर कोइरालानिकट अर्थविद् डा. गोविन्दराज पोखरेलले टिकट पाएका छन्। उनी एमालेका सूर्यबहादुर थापा क्षत्रीसँग प्रतिस्पर्धामा उत्रनेछन्।
सल्यानबाट जिल्ला सभापति केशबहादुर विष्ट र भोजपुरबाट बालकृष्ण थापा उम्मेदवार बनेका छन्। भोजपुरमा थापाले एमालेका शेरधन राई, नेकपाका अजम्बर काङमाङ राई र श्रमसंस्कृतिका ध्रुवराज राईसँग प्रतिस्पर्धा गर्नेछन्।
रुकुम पूर्वबाट निर्वमान सांसद कुसुम थापामगर कांग्रेसकी उम्मेदवार बनेकी छन्। उनी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी मैदानमा उत्रनेछिन्।
गगन थापाले पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि समेट्दै टिकट वितरणलाई थप तीव्र बनाउने तयारी गरेका छन्।



कागजपत्र |
