
नवीन ढाँचाको राजनीति आवश्यक भन्दै चुनावबाट पछि हटे विश्वकर्मा
काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। कांग्रेस सुनसरी–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएका विश्वकर्माले बदलिँदो राजनीतिक सन्दर्भमा नवीन ढाँचाको प्रतिनिधित्व आवश्यक रहेको भन्दै आफू पछि हट्ने निर्णय लिएका हुन्।
उनले कांग्रेसको रुख चुनाव चिह्न लिएर निर्वाचनमा जाने वातावरण क्रमशः सकारात्मक बन्दै गएको पनि बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विश्वकर्माले पार्टीभित्र विभाजित रहेका साथीहरूलाई एकताबद्ध गर्दै एउटै चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी गराउने प्रयासमा सकारात्मक संकेत देखिन थालेको उल्लेख गरेका छन्।
‘बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका साथीहरूलाई एकै स्वर र एकै चुनाव चिह्न लिएर आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण बनाउन गरिएको भगिरथ प्रयासका सकारात्मक लक्षणहरू देखिन थालेकोमा मनमा थोरै भए पनि खुसी छाएको छ,’ उनले लेखेका छन्।
सुनसरी–१ बाट उम्मेदवार बन्न सिफारिस गर्ने, आग्रह गर्ने तथा टिकट दिलाउन पहल गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले आभार प्रकट गरेका छन्।



कागजपत्र |
