
नीति कि भीड? बालेनकाे अभिव्यक्तिले उठायो नीतिगत विश्वसनीयतामा प्रश्न
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र (बालेन) साहका पछिल्ला अभिव्यक्तिले फेरि एकपटक नेपाली राजनीतिक वृत्तमा नीतिगत स्पष्टता र नेतृत्वको विश्वसनीयताबारे बहस चर्काएको छ। केही समयअघि प्रदेश संरचना खारेज गर्नुपर्छ भन्दै प्रदेश चुनावमै भोट नहाल्ने अभिव्यक्ति दिएका बालेन हालै मधेस पुगेर प्रदेशलाई अझ बलियो बनाउने र अधिकारका लागि केन्द्र धाउनु नपर्ने व्यवस्था बनाउने कुरा गरेपछि उनको राजनीतिक धार बदलिएको कि सन्दर्भअनुसार बयान फेरिएको भन्ने प्रश्न उठेको हो।
मधेसमा आयोजित कार्यक्रममा उनले ‘प्रदेशलाई सक्षम बनाइन्छ, नागरिकले अब आफ्नो अधिकारका लागि काठमाडौं धाउनु पर्दैन’ भन्ने अभिव्यक्ति दिए। यसलाई कतिपयले संघीय संरचनाप्रति सकारात्मक संकेतका रूपमा लिएका छन् भने अर्को पक्षले यसलाई हिजोको कडा आलोचनासँग जोड्दै विरोधाभासको रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच तीव्र बहस चलेको छ।
यसैबीच, बालेनले हालै दिएको रवी लामिछानेप्रति लक्षित टिप्पणीले पनि राजनीतिक तापक्रम बढाएको छ। प्रत्यक्ष नाम नलिए पनि ‘नयाँ राजनीति भन्दै पुरानै शैली दोहोर्याउने प्रवृत्ति’प्रति गरिएको कटाक्षलाई धेरैले रवी केन्द्रित टिप्पणी मानेका छन्। यसले दुई फरक राजनीतिक धारका नेताबीचको वैचारिक दूरी सार्वजनिक रूपमा उजागर भएको विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, नेतृत्वका अभिव्यक्ति केवल लोकप्रियता बटुल्ने माध्यम मात्र नभई दीर्घकालीन नीति र दृष्टिकोणको संकेत पनि हुनुपर्छ। संघीयता, प्रदेश संरचना र शक्ति सन्तुलनजस्ता संवेदनशील विषयमा स्पष्ट रोडम्याप बिना आउने विरोधाभासी बयानले नेतृत्वमाथिको भरोसा कमजोर बनाउने उनीहरूको तर्क छ।
सामाजिक सञ्जालमा कतिपयले बालेनलाई ‘भीडको भावनामा बग्ने’ नेता भन्दै आलोचना गरिरहेका छन् भने समर्थकहरूले उनको शैलीलाई ‘परिस्थितिअनुसार बदलिने व्यावहारिक राजनीति’को संज्ञा दिएका छन्। यसले बालेन साहको राजनीतिक छवि दुई धारमा विभाजित हुँदै गएको देखिन्छ।
अब प्रश्न यो छ—बालेन साहका अभिव्यक्ति नीतिगत दिशानिर्देशमा आधारित छन् कि तत्कालीन राजनीतिक माहोल र भीडको प्रतिक्रिया अनुसार बदलिएका छन्रु आगामी दिनमा उनको व्यवहार र कार्यान्वयनले यी प्रश्नको उत्तर दिने राजनीतिक वृत्तको अपेक्षा छ।



कागजपत्र |
