

प्राज्ञिक विद्यार्थी परिषद्को आठौं राष्ट्रिय अधिवेशन सम्पन्न

काठमाण्डौं – प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन विराटनगरको अतिथि सदनमा सम्पन्न भएको छ । चैत २० गतेबाट सुरू भएको अधिवेशन २२ गते आइतबार सम्पन्न भएको हो । अधिवेशनको नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए ।
उद्दघाटन सत्रमा बोल्दै प्रमुख अतिथि घिसिङले देश विकासका लागि इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेकोले प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको कार्यबाट त्यस्तो व्यक्ति निर्माण गर्ने कुरामा विश्वस्त रहेको बताए ।
अधिवेशनमा सांगठनिक प्रशिक्षण, देशको समसामयिक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक, समसामयिक र कोरोना महामारी पछिको अर्थतन्त्र सम्बन्धि विशेष प्रस्तावमाथि व्यापक छलफल पश्चात् आएको सुझाबहरू संकलन गरेर तीनवटा प्रस्तावहरू पारित गरिएका थिए ।
त्यस्तै अधिवेशनको एक सत्रमा परिषद्ले राष्ट्रिय अधिवेशनमार्फत प्रदान गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट युवा उद्यमी ललितपुर निवासी देविका बुढाथोकीलाई सम्मान गरेको थियो । कार्यक्रमको सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सिनाले विभिन्न विचारधारा र हाम्रो विचार भन्ने विषयमा विश्लेषणत्मक तथ्यहरूमा बोल्दै पुर्वी सभ्यता र विचारधारा नै सर्वश्रेष्ठ विचार भएको र अन्य विचारधारा नेपालमा आवश्यक नभएको कुरा प्रष्ट्याएका थिए ।
त्यस्तै अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष चौहान विश्वको सभ्यताहरू कसरी हराउँदै गयो र आज हाम्रो पूर्वी सभ्यता किन आजसम्म पनि बचिरहेको छ र यसको महत्व साथै अन्य सभ्यतामाथिको आक्रमण र हाम्रो सभ्यता माथीको प्रहार र यी सबैबाट बच्चे विषयमा आफ्नो मन्तव्य राखेका थिए ।
त्यस्तै विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट आगामी २०७८/०७९ का लागि ९२ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाइएको छ । आठौँ राष्ट्रिय अधिवेशनबाट परिषद्का उपाध्यक्ष डा। गोपीनाथ कँडेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् भने राष्ट्रिय महासचिवमा राष्ट्रिय सचिव छितराज न्यौपाने निर्वाचित भएका छन् ।
रजत जयन्ती वर्ष विशेष आठौँ राष्ट्रिय अधिवेशनमा अलग-अलग सत्रहरू प्रदेश अनुसार बैठक, प्रदर्शनी उद्घाटन, ध्वजारोहण तथा उद्घाटन समारोह, महासचिव प्रतिवेदन तथा निर्वाचन, प्रस्ताव सत्र, भाषण स् एक संकल्प राष्ट्रका लागि, भाषण स् विभिन्न विचारधारा र हाम्रो विचार, राष्ट्रय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान, प्रस्ताव पारित, युवा सम्बोधन, भाषणः परिषद्को बढदो गति र आगामी दिशा, सांस्कृतिक कार्यक्रम, व्यवस्था परिचय, नयाँ कार्यकारिणी एवं प्रदेश अनुसार बैठक, समापन एवं ध्वजावतरण र नयाँ तथा पुराना कार्यकारिणी समिति बैठक संचालन भए पश्चात अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनमा विभिन्न क्षेत्रमा समाजका बौद्धिक, सामाजिक, व्यवसायीक, आध्यात्मिक साथै देशैभरबाट परिषद्का ५ सय भन्दा बढी विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट बुढाथोकी सम्मानित
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस वर्षको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार महिला उद्यमी देविका बुढाथोकीलाई प्रदान गरेको छ । विराटनगरको अतिथि सदनमा आयोजना गरिएको विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार-२०७७ बाट महिला उद्यमी बुढाथोकलाई रू १५ हजार नगद, सम्मान पत्र, दोसल्ला र श्रीफल दिएर सम्मान गरेको छ ।
विद्यार्थी परिषद्ले समाजमा सकारात्मक कार्य, प्रेरणादायी अनुकरणीय कार्य गर्दै आइरहेका युवाहरू मध्यबाट राम्रो र उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई छनौट गरी आफ्नो राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारको नामबाट युवालाई सम्मान गर्ने गरेको छ । उक्त सम्मान गर्ने क्रममा विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार झापा जिल्लाका बुढाथोकीलाई प्रदान गरेको हो ।
झापा जिल्लामा वि.सं. २०४१ सालमा जन्मिएकी बुढाथोकी आफ्नो बाल्यकालदेखि नै सामाजिक, व्यवसायिक एवं उद्यमाशिलताको क्षेत्रमा विशेष रूची राख्दै विभिन्न संघ-संस्था, क्लब, समुहहरू, पेशा तथा सीप सिकाईका क्षेत्रमा आबद्ध छिन् । उनले युवा उमेरमा नै हस्तकला, नेपाली मौलिक खाद्यान्नको निर्यात, स्वदेशी उत्पादन तथा विक्री वितरणका लागि वातावरण निर्माण गरी महिला उद्यमशिलताको विकास एवं विशेष प्रशिक्षण आदिलाई आफ्नो कर्मक्षेत्र बनाई नेपाली हस्तकलालाई उत्पादन गर्दे अन्तराष्ट्रिय स्तरमा व्यापार प्रर्बद्धन र पहिचान प्रदान गर्न सफल भएकी छन्
उनले नेपाली माटोको उत्पादन, कच्चा पदार्थहरूको संकलन, पाकृतिक रेशाका बनस्पतिहरूको प्रयोग गर्दे हस्तकलाको विकास एवं विस्तार लागि महिलाहरूलाई विशेष प्रशिक्षण गर्दै आएकी छन् । उनले स्वरोजगारको निर्माण तथा जनजीवनमा उपभोग्य सामाग्रीको निर्माण, राष्ट्रमा सीप र संस्कृतिको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली मौलिक उत्पादनको निर्यातको माध्यमबाट ५ सय बढी महिलालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्दै, लाखौँ युवालाई स्वदेशमा नै मिहिनेत र परिश्रम गरी, सफलता प्राप्त गर्ने सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने सफल भएकी छन् ।
समाजको विभिन्न संघ-संस्थाहरू, नेपाली माटो खाद्यान्न संस्थाको प्रमुख, नेपाल उद्यमशिल महिला संघको परिकल्पनाकार एवं वर्तमान अध्यक्ष, रिजनल हेन्डिक्राफ्ट इन्डिष्ट्री आदि संगठनमा नेतृत्वदायी, भूमिकामा रहेर प्रेरणादायी साहसिक र आदर्श कार्य गर्दै आइरहेकोेले विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार-२०७७ बाट सम्मानित भएकी हुन् ।

