

सरकार नबने चुनावको तयारीमा जुट्ने कांग्रेसको निष्कर्श

काठमाडौं– आफ्नो नेतृत्वमा वैकल्पिक सरकार दिन तयार रहेको नेपाली कांग्रेसले चुनावलाई पनि महत्वमा राखेको छ। पदाधिकारी बैठकमा यी दुवै विकल्पका विषयमा गहन ढंगले छलफल भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमत पुगेको खण्डमा आफू नेतृत्वको सरकार बनाउने, अन्यको नेतृत्वमा नजाने छलफलमा जुटेको कांग्रेसले जनता समाजवादी पार्टीले सहयोग नगरेको खण्डमा चुनावमै जानुपर्ने विकल्प खुला राखेको छ।
केही दिन अघि कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा भएको छलफलमा सरकार बनाउनका लागि प्रस्ताव अघि सारिएको थियो तर जसपा यस विषयमा निर्णित थिएन।
जसपाले अहिले पनि सरकारको विकल्पमा जाने विषयमा सोचेको छैन। देउवा वा ओली कतैतिर पनि नरहेको सन्देश राजेन्द्र महतोले बताएका थिए। आइतबार पदाधिकारी बैठकले दुवै विकल्प खुला गर्दै यस विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ।
‘सरकार बने सरकार र चुनाव भए चुनावमा जाने कुरा हुन्छ। यी दुवै विषयमा कुराकानी भएका छन्’, कांग्रेस नेता रामशरण महतले भने,‘तीन पार्टीसँग छलफल सुरु भएको छ तर कुन निर्णयमा जाने भन्ने विषय निक्र्यौल भइसकेको छैन। विकल्प खुला छन्।’
सोमबार केन्द्रीय समितिको बैठक डाकिएको छ। उक्त बैठक यी विषयसँगै आगामी महाधिवेशनका तयारीबारे पनि छलफल हुनेछ।

