
डडेल्धुराबाट किन ‘ब्याक’ भए सागर ढकाल ?
डडेल्धुरा- डडेल्धुराबाट चुनाव लड्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले अचानक त्यहाँबाट ब्याक हुने निर्णय गरेका छन् । नेपाली कांग्रेसभित्रको तीव्र राजनीतिक उथलपुथल, नेतृत्व परिवर्तन र शेरबहादुर देउवा किनारा लागेसँगै ढकालले डडेल्धुरालाई चुनावी रणभूमिबाट हटाएका हुन् ।
ढकालले कांग्रेसको नेतृत्व गगन थापाको हातमा पुगेपछि डडेल्धुराबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको स्पष्ट पारे । उनका अनुसार, अब डडेल्धुरामा चुनावी प्रतिस्पर्धाको सन्दर्भ नै फेरिएको छ । यही कारण आफूले रणनीति बदल्नुपरेको ढकालको भनाइ छ ।
ढकालले यसबारे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भइसकेको जानकारी दिए । कांग्रेसभित्र नेतृत्व परिवर्तन भएपछि डडेल्धुराको राजनीतिक समीकरण नै उल्टिएको उनको बुझाइ छ ।
शेरबहादुर देउवाको बहिर्गमनलाई ‘ढलेको रुख’को संज्ञा दिँदै ढकालले देउवा चुनाव उठे पनि आफू डडेल्धुराबाट उम्मेदवार नबन्ने स्पष्ट पारे । उनले भने, ‘हजुरबुबा पुस्ता सबै ढलिसक्यो । शेरबहादुर देउवा पार्टीबाटै हटिसकेपछि र टिकट गगन थापाले दिने अवस्था आएपछि म किन डडेल्धुरा जानु ?’
अब कहाँबाट चुनाव लड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको बताउँदै ढकालले आइतबारभित्र टुंगो लाग्ने बताए । ‘रुपन्देही वा गुल्मीमध्ये कुनै एक स्थानबाट चुनाव लड्छु,’ उनले भने ।
अघिल्लो चुनावमा डडेल्धुराबाट उम्मेदवारी दिनु समयको आवश्यकता भएको उल्लेख गर्दै ढकालले अब पनि डडेल्धुरा र समग्र सुदूरपश्चिमका मुद्दा उठाइरहने दाबी गरे । ‘डडेल्धुरा नजाँए पनि त्यहाँका मुद्दा उठाउँछु,’ उनले भने ।



कागजपत्र |
