सिन्धुलीको एसबीआई बैंक डकैती : सातजनासहित दुई करोड ६८ लाख बरामद


सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा सञ्चालित एसबीआई बैंकको शाखा कार्यालयमा डकैती योजना गत असोजदेखि नै तयार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बैंक लुट्ने उद्देश्यसहित पुस २३ मा चार जनाले दुईवटा मोटरसाइकलमा पुगे पनि परिस्थिति अनुकूल नदेखिएपछि फर्किएका थिए। पुस २९ गते साँझ भएको डकैतीमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बनेपा–१० का भागवत सिंह थापा, घ्याङलेख–२ का चतुरमान बज्यू, छविला स्याङ्तान, चितवन भरतपुरका शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का मिलन गिरी, विवेक मगर र १६ वर्षीय एक किशोर रहेका छन्।

डकैत समूहले लुटेको अवस्थामा प्रहरीले दुई करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ बरामद गरेको छ। डकैतीमा प्रयोग गरिएका प्लास्टिकका खेलौना पेस्तोल, दुई खुकुरी, ठूलो पानी टेप, चारवटा नकाब र एक जोडी कालो पञ्जा पनि प्रहरीले बरामद गरेको छ।

एसपी लालध्वज सुवेदीका अनुसार पक्राउ परेका छविला स्याङ्तान बैंक भएको घरका घरबेटी हुन्। उनले दिएको बयानअनुसार बैंक डकैतको योजना गत असोजमै बनाइएको थियो। शशांक श्रेष्ठ योजनाकार मध्येका एक हुन् र डकैती पूर्वको बैंक रेकी तथा योजना तयार पार्न उनी समूहसँग सम्पर्कमा थिए।

बैंक लुट्ने दोस्रो योजना पुस २८ मा काठमाडौंको कोटेश्वरमा बनेको थियो। स्याङ्तानले हतियार व्यवस्थापन र सूचना आदानप्रदानको जिम्मेवारी लिएका थिए। पुस २९ गते डकैत समूह बनेपा पुगी, टाटासुमो विवाहका लागि रिजर्भ गरेर बैंकमा पुगे।

डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर प्लास्टिक पेस्तोल देखाए र भल्टको ताल्चा खोल्न लगाएर पैसा बोरामा हालेर भागेको थियो। बैंकले दिएको जानकारी अनुसार उनीहरूले तीन करोड ७ लाख रुपैयाँ लुटेका थिए।

पक्राउ परेका सात जनाविरुद्ध जिल्ला अदालत सिन्धुलीले चोरी तथा डाँका मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थपेको छ।

प्रतिक्रिया