
कैलालीकाे बडुवाल हत्या प्रकरण : नवीन रावलसहित १३ जनालाई जन्मकैदकाे सजाय
कैलाली – लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या मामिलामा जिल्ला अदालतले १३ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद हुने निर्णय गरेको छ।
अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार, जीवनकैद पाउनेहरूमा नवीन रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज (चिरञ्जिवी जंग) शाही, रोहित आले र हिमाल शाही रहेका छन्। यी सबैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम सजाय तोकिएको छ।
त्यसैगरी मदन शाही, हेमन्त शाही, धिरज (दीपेन्द्र) शाही, गोलु (निशान्त) मल्ल र शोहन शाहलाई दफा १७७(१) अनुसार जन्मकैद सजाय सुनाइएको छ। अदालतले लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई पनि अभियोग दाबी अनुसार जन्मकैद हुने निर्णय गरेको छ।
उता, अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठलाई अभियोग दाबीबाट पूर्णरूपमा सफाइ दिइएको छ।
यस मुद्दामा सुरूदेखि फरार रहेका लोकजंग शाहीको हकमा अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको छ।
अदालतले सजाय पाएका १३ जनालाई पीडित राहत कोषमार्फत १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन र जनही २,८०० रुपैयाँ दरले कानुन बमोजिम पीडित राहत कोषमा रकम बुझाउन आदेश दिएको छ।
भूपेन्द्र बडुवालको हत्या २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा भएको थियो। २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो।



कागजपत्र |
