सिरहाकाे सीमा क्षेत्रमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ


सिरहा– सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आज करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडी, दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ मा चेकजाँच गर्ने क्रममा यो कार्यवाही गरेको हो।

नियन्त्रणमा लिइएका व्यक्ति भगवानपुर गाउँपालिका–३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा यादवसँग स्रोत नखुलेको १०,००३,९९० रुपैयाँ नगद, साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको छ।

सशस्त्र प्रहरीले जानकारी दिएको छ कि नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

यसै विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकम र ओसारपसार नियन्त्रण गर्न निगरानी र सुरक्षा जाँचमा कडाइ गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया