ब्रिटिश कलेज बन्द गराइदिने धम्की दिँदै रकम मागेको आरोपमा पूर्व विद्यार्थी पक्राउ


काठमाडौं-  द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रकम असुली गर्न खोजेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् ।

कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ माग्दै नदिए कलेज नै बन्द गराइदिने धम्की दिएको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको जोरपाटी बस्दै आएका २८ वर्षीय ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ढकालले राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गरी कलेज बन्द गरिदिने धम्की दिँदै रकमको बार्गेनिङ गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ सम्बन्धी कसूरमा पक्राउ गरिएको हो ।

ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजका व्यवस्थापकसँग भएको भेटघाटका क्रममा डर, त्रास र मानसिक दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको प्रहरीको दाबी छ ।

गत पुस ८ गते ब्रिटिश कलेज रहेको ट्रेड टावर परिसरमा गरिएको नारा–जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पुर्‍याउने गतिविधिमा समेत ढकाल संलग्न रहेको प्रहरीको आरोप छ ।

ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिस इन्टरनेसनल कलेजका पूर्व विद्यार्थी समेत रहेको खुल्न आएको छ । उनले कलेजलाई तिर्नुपर्ने शुल्कसमेत अहिलेसम्म भुक्तानी नगरेको बताइएको छ ।

 

प्रतिक्रिया