सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैन: डा. शेखर कोइराला


काठमाडौं-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको स्पष्ट पारेका छन् । पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै उनले व्यक्तिगत महत्त्वाकाङ्क्षाभन्दा पार्टीको समग्र एकता र लोकतान्त्रिक मूल्यको रक्षा आफ्नो प्राथमिकता भएको बताएका हुन् ।

कोइरालाले मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने लोभले आफूलाई कहिल्यै आकर्षित नगरेको दाबी गर्दै आफ्नो जीवन दर्शन परिवारबाट पाएको शिक्षामा आधारित रहेको बताए । यही दर्शनका कारण आफू कांग्रेसको एकताका पक्षमा शान्त, मधुरो तर निरन्तर आवाज उठाइरहेको र उठाइरहने उनले उल्लेख गरे ।

उनले कांग्रेस रूपान्तरणको अभियानमा आफू आक्रोशित र अधैर्य भएर अगाडि बढ्न नचाहेको स्पष्ट पार्दै आफ्नो लड्ने शैली शान्त र संयमित रहेको बताए । अहिले एकातिर पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नुपरेको र अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नुपरेको उनको भनाइ छ ।

विशेष महाधिवेशनको अभियान चलिरहँदा आफूले आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमा राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर अत्यन्त सतर्कता अपनाएको उनले जिकिर गरे । कांग्रेस संक्रमणमा पर्दा कसरी त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई राम्ररी थाहा भएको उल्लेख गर्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकताका लागि अघि बढिरहने प्रण गरे ।

कोइरालाले बीपी कोइरालाको मेलमिलापको नीति कुनै कानुन, विधान वा संविधानको पन्नाबाट नभई अन्तरआत्माको आवाज भएको स्मरण गराए । बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाजस्ता अग्रज नेताहरूले छाडेको पदचिह्नबाट आफू कहिल्यै विचलित नहुने उनको भनाइ छ ।

सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जानुपर्नेमा उनले जोड दिए ।

देश आसन्न निर्वाचनको संघारमा रहेको र संविधान छतविक्षत अवस्थामा पुगेको भन्दै कोइरालाले गम्भीर चिन्ता व्यक्त गरे । जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार गठन भएको र संविधानहीनताको अवस्था सिर्जना भएको उनको भनाइ छ । लोकतन्त्रको रक्षा र संविधान जोगाउन सबै शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहरको संज्ञा दिँदै उनले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्न काठमाडौं आएका प्रतिनिधिहरूले ऐतिहासिक दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पार्टीभित्र निकासका लागि आफूले भगीरथ प्रयास गरिरहेको र निकास ननिस्किएसम्म निरन्तर लागिरहने उनले बताए । एकताबद्ध भएर अघि बढ्न सके मात्र ‘जय नेपाल’को नाराले देशभर गुञ्जन पाउने उनको निष्कर्ष छ ।

प्रतिक्रिया