कम्पनीकाे कागजात दुरुपयोग गरेर ईसेवामा लाखौँको कारोबार, युवक पक्राउ


काठमाडौं – प्रहरीले कम्पनीको कागजात दुरुपयोग गरी ईसेवामा लाखौँ रुपैयाँको कारोबार गरेको अभियोगमा काठमाडौंको कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उप्रेतीले वाइड–स्पेस इन्टरनेशनल प्रा.लि.को नाममा जारी स्थायी लेखा नम्बर लगायतका कागजात दुरुपयोग गरी ठूलो रकमको कारोबार गरेको खुलेको छ।

प्रहरीका अनुसार उप्रेतीले ईसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०३ रुपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६०३ रुपैयाँ कारोबार गरेको पाइएको छ।

उक्त घटनामा बैंकिङ कसुर र सट्टेबाजीसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीको लागि उप्रेतीलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया