
विशेष महाधिवेशनले पार्टी विभाजन हुँदैन, कांग्रेस एक भएर चुनाव जानेछ : महामन्त्री शर्मा
काठमाडौं – पुस २७ र २८ मा भृकुटीमण्डपमा आयोजना हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनकाे तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन अपरिहार्य रहेको बताउँदै प्रतिनिधि संख्या थपिनेक्रम जारी रहेको जानकारी दिएका छन्।
महामन्त्री शर्माका अनुसार, विशेष महाधिवेशनको माग गर्दा प्रारम्भमा ५४ प्रतिशतले समर्थन जनाएका थिए, तर त्यसमध्ये २५ जनाले हस्ताक्षर फिर्ता लिएका छन्। उनले भने, “फिर्ता लिनेभन्दा धेरैले हस्ताक्षर गरिरहेका छन्।” यसैबीच, करिब ५ सय जना महाधिवेशन प्रतिनिधि अहिले भृकुटीमण्डप पुग्न थालेको बताएका छन्।
महामन्त्री शर्मा शुक्रबार नेताहरू चन्द्र भण्डारी र सुनील शर्मालाई लिएर भृकुटीमण्डप पुगेका छन्। पार्टी फुट्ने अड्कलबाजीहरूलाई सम्बोधन गर्दै उनले भने, “विशेष महाधिवेशनले पार्टी विभाजन हुँदैन। २१ फागुनको निर्वाचनमा कांग्रेस एक भएर जान्छ। १६५ क्षेत्रमा कांग्रेसको एकल उम्मेदवार हुनेछ।”
शर्माका अनुसार, विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व छान्ने वा नीति निर्माण गर्ने निर्णय प्रतिनिधि हलले गर्नेछ। “विशेष महाधिवेशनले कार्यविधि निर्माण गर्छ, जे गर्ने हो, त्यसबाटै निर्णय हुनेछ,” उनले भने।
देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू आइपुगेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र भएको छ। मञ्च निर्माण, हल सजावट, प्राविधिक तयारी, प्रवेशद्वार व्यवस्थापन र सुरक्षा व्यवस्थामा तीव्रता दिएको महाधिवेशन व्यवस्थापन समितिले जानकारी दिएको छ।
महाधिवेशन स्थलमा पार्टीका झन्डा, ब्यानर र प्रचार सामग्री राख्ने काम भइरहेको छ भने स्वयंसेवकहरू परिचालन गरी प्रतिनिधि दर्ता, परिचयपत्र वितरण र बसोबास व्यवस्थापनको काम अघि बढाइएको छ।



कागजपत्र |
