५ महिनामा भित्रियो आठ खर्ब ७० अर्ब रेमिट्यान्स


काठमाडौं – चालु आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा नेपालमा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका तथ्यांक अनुसार मंसिरमा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको मंसिरमा यो रकम १ खर्ब १८ अर्ब ७९ करोड मात्र थियो।

यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा डलर आप्रवाहमा ३.४ प्रतिशत मात्र वृद्धि भएको थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि उच्च गतिमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिमा क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ थियो।

प्रतिक्रिया