निर्वाचनका लागि आचारसंहिता कडाइका साथ लागू गर्ने आयोगको तयारी


काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ कडाइका साथ लागू गर्ने तीन रणनीति तयार पारेको जनाएको छ।

शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता कार्यान्वयनमा प्रभावकारी प्रचार-प्रसार, कार्यान्वयनमाथि स्वमूल्याङ्कन र स्वनियमन, र उल्लङ्घन भएमा दण्डात्मक व्यवस्था लागू हुने बताए। उनले भने, “पहिला उल्लङ्घन भएका पक्षलाई सचेत गराइनेछ, त्यसपछि आवश्यक परे दण्डात्मक कदम चालिनेछ।”

निर्वाचन आयोगले आचारसंहिता लागू हुनुअघि केन्द्रीय अनुगमन समितिको बैठक बसेको र दलहरूसँग छलफल गरिएको बताए। यसैले आचारसंहिता कार्यान्वयनमा जिम्मेवार पक्षहरू सचेत रहन जरुरी रहेको प्रवक्ता भट्टराईले बताए। आयोगले माघको पहिलो साताबाट आचारसंहिता जारी गर्ने तयारी गरिरहेको छ।

पत्रकार सम्मेलनमा कांग्रेसको विशेष महाधिवेशनबारे सोधिएको प्रश्नमा भट्टराईले आयोगले दलहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्पष्ट जानकारी दिएका छन्। “दलहरूको गतिविधि नजिकबाट अध्ययन गर्न आयोगको जिम्मेवारी हो, तर वर्तमान अवस्थामा कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप गर्नु आवश्यक छैन,” उनले भने।

प्रतिक्रिया