स्वास्थ्य कर कोषको बजेट स्वास्थ्य मन्त्रालयकै प्रयोगमा जानुपर्छ : मन्त्री गौतम


काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट स्वास्थ्य मन्त्रालयकै प्रयोगमा जानुपर्ने भन्दै अर्थ मन्त्रालयमाथि दबाब दिएकी छन्। उनले विभिन्न देशका अनुभव र स्वदेशी विज्ञहरूले दिएका सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले उक्त बजेट पाउनुपर्ने तर्क गरिन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयको पहुँचमा हुनुपर्ने स्पष्ट पारिन्। उनले बजेट माग्दा मातहतका निकायले जिम्मेवार र प्रमाण आधारित प्रस्तुति गर्नुपर्नेमा पनि जोड दिइन्।

मन्त्री गौतमले भनिन्, “विभिन्न सुझाव र अन्य देशका अनुभवहरू सही छन्। कतिपय अवस्थामा स्वास्थ्य वित्तसँग सम्बन्धित कर प्रणालीका कुरा उठेका छन्। हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानबाट उठेको कर पनि छ, तर त्यसको सबै रकम हामीले पाउँदैनौं। अब सरकारले, अर्थ मन्त्रालयलाई आवश्यक दबाब दिनु पर्छ।”

उनले थप भनिन्, “हामीले देशको आर्थिक अवस्था बुझ्दै अघि बढ्नुपर्छ। हामी सबै जिम्मेवार नागरिक हौँ। सरकारलाई सही गाइड गर्नु हाम्रो दायित्व हो। गलत भयो भने चेताउनु पनि हाम्रो काम हो। हामीले माग्ने मात्र होइन, जिम्मेवारीसाथ अघि बढ्नुपर्छ।”

मन्त्री गौतमले मुलुक आर्थिक दबाबमा रहेको अवस्थामा बजेट व्यवस्थापन र माग गर्दा विवेकपूर्ण र प्रमाण आधारित दृष्टिकोण अपनाउन कर्मचारीहरूलाई निर्देशन दिइन्।

प्रतिक्रिया