ओलीले पोखरेलको जिम्मेवारी खोस्दै निकटका रिमाललाई दिए दोहोरो पद


काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिने नेताहरूको जिम्मेवारी एकपछि अर्को गर्दै परिवर्तन गर्दै आएका छन्।

मंगलबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जिम्मेवारी पनि खोस्दै नयाँ संयोजक बनाएका छन्। पोखरेलले सम्हाल्दै आएको नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख पद उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित आफ्नो सहयोगी विष्णु रिमाललाई सुम्पिइएको छ।

त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन परिचालन समितिको सचिव पद पनि रिमाललाई दिइएको छ। सामान्य कार्यकर्ता भए पनि रिमालले सचिवालयकै पदाधिकारीको हैसियतमा दोहोरो जिम्मेवारी पाएका छन्।

बैठकमा केही सचिवालय सदस्यहरूले रिमाललाई पद दिनु उचित भए/नभएको विषयमा प्रश्न उठाए, तर अध्यक्ष ओलीले रिमाल युवा र लामो समय पार्टीमा सक्रिय भएको कारण नयाँ जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सक्ने स्पष्ट पारे।

पोखरेलको जिम्मेवारी खोसिएपछि उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको सट्टा घोषणापत्र मस्यौदा समितिको सदस्य बनाइएको छ। फागुन २१ को चुनावका लागि बनाइएको उक्त समितिको संयोजक ओली स्वयं हुन्।

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार, अध्यक्ष ओलीले पोखरेलसँग सहकार्यको विकल्प भन्दा पनि निरुत्साहित गर्ने नीति अपनाएका छन्।

प्रतिक्रिया