सरकारी वेबसाइट ह्याक गरेकाे आरोपमा दुईजना पक्राउ


काठमाडौं-  विभिन्न सरकारी वेबसाइटहरू ह्याक गरी अनधिकृत पहुँच पुर्‍याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका–१ का २० वर्षीय सन्तोष चिमोरिया र दमक नगरपालिका–९ का १९ वर्षीय विकास पौडेल रहेका छन्। उनीहरूले केही महिनादेखि सरकारी तथा गैरसरकारी कार्यालयहरूको सूचना प्रणाली र सम्बन्धित सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको प्रहरीको दाबी छ।

प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, चिमोरिया र पौडेलले “सीएमडी नेपाल” र “नेपाली फर नेपाल” नामक समूह बनाएर मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोगका वेबसाइटमा ह्याकिङ र डाटा ब्रिच गरेका थिए।

केन्द्रीय साइबर ब्यूरोको टोलीले चिमोरियालाई झापाबाट र पौडेललाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा चार थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, एक थान आइफोन, फिचर फोन, हार्ड ड्राइभ र रिपिटर बरामद गरिएको जनाएको छ।

विशिष्ट प्राविधिक विश्लेषण र अनुसन्धानका क्रममा पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक अवस्थीले जानकारी दिएका छन्।

 

प्रतिक्रिया