श्रीमती हुँदाहुँदै असईसँग लिभिङ टुगेदरमा बस्ने डिएसपी कारागार चलान


रुपन्देही – बहुविवाहको आरोपमा पक्राउ परेका नवलपुरस्थित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बहुविवाहसम्बन्धी उजुरीपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। मंसिरको तेस्रो साता दुवै प्रहरीसमक्ष उपस्थित भएका थिए। अदालतले डिएसपी नेपाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गर्दै कारागार चलान गरेको छ भने असई गीता पुरीलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जेठी पत्नी तारा नेपाल खनालले श्रीमान् मधु नेपालले बहुविवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। डिएसपी नेपाल पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानामा नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई हुन्।

अदालतमा डिएसपी नेपालले गीता पुरीसँग प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’का क्रममा सन्तान भएको बयान दिएका थिए। उनले पहिलेको श्रीमतीको सल्लाहमा अर्को बिहे गरेको दाबी पनि अदालतमा गरेका छन्। गीता पुरीको परिवारमा ५ वर्षकी छोरी र २ वर्षको छोरा छन्।

 

प्रतिक्रिया