प्रधानमन्त्रीका श्रीमान् दुर्गा प्रसाद सुवेदी अस्पताल भर्ना


काठमाडौं- श्रीमान् बिरामी भएपछि प्रधानमन्त्री सुशीला कार्की त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेकी छन्। स्वास्थ्य समस्या देखिएपछि उनका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई सो अस्पतालमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार सुवेदी हाल चिकित्सकको निगरानीमा उपचाररत छन्। उनलाई पिसाबसम्बन्धी संक्रमण, शरीरमा नुनको मात्रा घट्नु र चक्कर लाग्ने समस्या देखिएको जनाइएको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् भने थप विवरण सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार सुवेदी यसअघि पनि प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराइसकेका थिए। पछिल्लो समय संक्रमणका कारण स्वास्थ्यमा असहजता बढेपछि बिहीबार अस्पताल भर्ना गरिएको हो। हाल उनलाई अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले उपचारबारे चिकित्सकहरूसँग नियमित परामर्श गरिरहेकी छन्।

 

प्रतिक्रिया