गोदावरीकाे रिसोर्टमा ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’, लागुऔषधसहित ९ जना पक्राउ


काठमाडौं – ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारी लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीका अनुसार, दक्षिण भारतका आयोजक र केही नेपालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. २, बिशंखुनारायणस्थित रिसोर्टमा ‘महामाया मन्त्र इभेन्ट’ नामक ७२ घण्टासम्म चल्ने पार्टी आयोजना भइरहेको थियो। विशेष सूचनाको आधारमा पुस १६ गते ब्युरो र स्थानीय प्रहरीले संयुक्त छापा मारेको थियो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट बरामद भएका लागुऔषध सामग्रीमा एलएसडी ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडीएमए १ पिस र म्याजिक मसरुम ४ ग्राम रहेको छ।

पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत केरलाका २१ वर्षीय केभिन जोसेफ, २८ वर्षीय सादिक, २३ वर्षीय आश्विन अन्टु, २८ वर्षीय वैष्णव के साजु, हैदरावादका २६ वर्षीय अभिराज कुथाडी र ग्रिसका २१ वर्षीय डिमिट्रिओस काट्टोस रहेका छन्। नेपाली नागरिकहरूमा चितवन भण्डाराका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगरका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँ नक्सालका ४० वर्षीय आदित्य अर्याल रहेका छन्।

ब्युरोले सबै प्रतिवादीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया