
भेरी अस्पतालबाट थुनुवा फरार
बाँके – उपचारकै क्रममा नेपालगन्जस्थित भेरी अस्पतालबाट एक थुनुवा फरार भएका छन्।
प्रहरीका अनुसार, वर्ष ३२ का अनिल कुमार यादवलाई लागुऔषध सेवनसम्बन्धी मुद्दामा पक्राउ गरी हिरासतमा राखिएको थियो। स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो। अस्पतालमै भर्ना गरि उपचार भइरहेको बेला उनले सुरक्षा व्यवस्था भंग गरेर फरार भएका हुन्।
यादव भारतको बहराइच जिल्लाका नागरिक हुन्। उनलाई २०८२ पुस ७ गते पक्राउ गरिएको थियो। हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको र उपचार भइरहेको समयमा उनी भागेका प्रहरीले जानकारी दिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेले व्यापक खोजी सुरु गरेको छ। प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३५ जनाको विशेष टोली परिचालन गरिएको छ।
फरार घटनापछि अस्पतालको सुरक्षा व्यवस्थामा प्रश्न उठ्न थालेको छ। स्थानीयहरूले अस्पतालमा प्रहरी निगरानी हुँदाहुँदै थुनुवा भाग्न सफल हुनु लापरबाहीको संकेत भएको बताएका छन्। प्रहरीले भने आन्तरिक समीक्षा भइरहेको र फरार थुनुवालाई चाँडै नियन्त्रणमा ल्याउने विश्वास व्यक्त गरेको छ। सर्वसाधारणलाई सहयोग गर्न र कुनै जानकारी भए नजिकको प्रहरी एकाइमा खबर गर्न अनुरोध गरिएको छ।



कागजपत्र |
