दुर्गा प्रसाईंसँगको वार्ता सकारात्मक : सञ्चारमन्त्री खरेल


काठमाडौं – सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहसँग वार्ता गरेको छ।

बिहीबार दिउँसो सिंहदरबारमा भएको वार्ता सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएका छन्। उनले आगामी फागुनमा हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रसाईं समूहसहित विभिन्न पक्षसँग छलफल जारी रहेको पनि बताए।

वार्तामा सञ्चार मन्त्री खरेल, अर्थ मन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्री सुशीला कार्की लगायत सहभागी थिए।

प्रधानमन्त्री कार्कीले वार्तामा मुलुकले अस्थिरता र अशान्ति सहन नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह समेत गरेकी छिन्।

प्रसाईंले आफ्नो मागमा चैत १५ गतेको तीनकुने घटनासँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता गरिनु, भूमिहीन सुकुमबासी र कबाड व्यवसायीलाई वैकल्पिक व्यवस्था नभएसम्म हालको स्थानमा नहटाउन, बैंक तथा वित्तीय संस्थाको समस्या समाधान, किराँत, बौद्ध र हिन्दू अधिराज्यसँग सम्बन्धित जनमत संग्रह, प्रदेश खारेजी र राजसंस्थासम्बन्धी निर्णय, साथै चिकित्सा शिक्षा, नर्सिङ, एमबीबीएस तथा एमडी कोटा वृद्धि जस्ता माग राखेका छन्।

प्रतिक्रिया