कांग्रेसका प्रवक्ता महत भन्छन्: आन्दोलन जायज, तर लुटपाट र आगजनी अस्वीकार्य


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गते भएको जेन–जी आन्दोलनमा सरकारले अपनाएको रवैया गलत रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रवक्ता महतले आन्दोलनका क्रममा गरिएको अत्यधिक बल प्रयोग सरकारको तर्फबाट भएको गम्भीर कमजोरी भएको उल्लेख गरे।

तर, उनले भदौ २४ गते भएका आगजनी, लुटपाटजस्ता आपराधिक गतिविधिलाई सरकारले वैधानिकता दिन खोजेको आरोप लगाउँदै त्यसप्रति गम्भीर आपत्ति जनाए। यस्ता गतिविधिलाई संरक्षण वा वैधानिकता दिएमा भविष्यमा पनि उस्तै प्रकृतिका घटनाहरू दोहोरिन सक्ने उनले चेतावनी दिए।

“भदौ २३ र २४ मा जे भयो, त्यसलाई एउटै रूपमा हेर्न मिल्दैन,” महतले भने, “सुशासनका लागि गरिएको आन्दोलन जायज हो। तर आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गर्नु सरकारको गल्ती हो। त्यस्तै, दोस्रो दिन भएका लुटपाट र आगजनी पनि पूर्ण रूपमा गलत छन्।”

उनले दुवै घटनालाई एउटै तराजुमा राखेर मूल्याङ्कन गर्दा भविष्यमा थप समस्या सिर्जना हुनसक्ने बताए।

प्रवक्ता महतले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि कायम गर्न भदौ २४ गते भएका आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकार ढिलाइ गर्न नहुनेमा जोड दिए।

प्रतिक्रिया