
तोकिएको समयमा निर्वाचन अपरिहार्य : प्रचण्ड
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गरे।
दाहालले भने, “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ। नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हटाउने काम गर्नेछ।”
पछिल्ला राजनीतिक घटना र जेन-जी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनले बताए। साथै, राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए।
दाहालले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राखे। उनले भने, “युवापुस्ता जेन-जी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ। सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ।”
वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचनको वातावरण बनाउन सफल भएको उनले उल्लेख गर्दै भने, “के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ। सरकारले अप्ठेरोबीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ।”
कार्यक्रममा दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने पनि बताए। उनले भने, “निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन नगरी विकास र समृद्धि सम्भव छैन। राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगार सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धिबाट समृद्धि सम्भव हुन्छ।”



कागजपत्र |
