बिलबिनाका मोबाइल पार्ट्स बोकेको बससहित चार जना नियन्त्रणमा


काठमाडौं-  बिलबिनाका मोबाइल पार्ट्स बोकेको यात्रुबाहक बससहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकमा धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा बिलबिनाका मोबाइल सामग्री बरामद गरिएको हो।

प्रहरीका अनुसार मिति २०८२ साल पुस १६ गते बिहान ६ः१५ बजे गरिएको नियमित चेकजाँचका क्रममा बसको डिक्कीभित्र लुकाइ राखिएको अवस्थामा बिलबिनाका २८ कार्टुन मोबाइल पार्ट्स फेला परेका थिए।

बरामद सामग्रीमध्ये २७ बोरामा प्याक गरिएको टेम्पर्ड ग्लास रहेका छन्। प्रत्येक बोरामा १५ सय पिसका दरले जम्मा ४० हजार ५०० पिस टेम्पर्ड ग्लास बरामद भएको प्रहरीले जनाएको छ। ती टेम्पर्ड ग्लासको प्रतिपिस अन्दाजी मूल्य ३५ रुपैयाँ तोकिँदा कुल मूल्य १४ लाख १७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

यसैगरी, एक बोरामा १०० पिस एयरपड्स पनि फेला परेका छन्। ती एयरपड्सको प्रतिपिस अन्दाजी मूल्य ८ सय रुपैयाँका दरले कुल ८० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ।

यसरी बरामद गरिएका सम्पूर्ण सामानको जम्मा अन्दाजी मूल्य १४ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ। घटनापछि उक्त बस, बसका चार जना स्टाफ तथा बरामद सबै सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वृत्त स्वयम्भुमा राखिएको काठमाडौं प्रहरीले जनाएको छ।

बिलबिना रूपमा मोबाइल पार्ट्स कसरी ओसारपसार गरिएको हो र यसमा को–को संलग्न छन् भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया