आईसीसी टी–२० विश्वकपको ट्रफी नेपाल आइपुग्ने


काठमाडौं- आगामी फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर नेपालमा पनि आयोजना हुने भएको छ। ट्रफी टुर जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा सञ्चालन हुनेछ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। यही विश्वकपको प्रचार र उत्साह फैलाउने उद्देश्यसहित विश्वकप ट्रफी विभिन्न देश घुमाइँदै छ, जसको क्रममा नेपाल पनि समावेश भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ट्रफी टुरका क्रममा नेपाली क्रिकेट प्रेमीहरूले विश्वकपको ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्। यद्यपि, ट्रफी कुन–कुन स्थानमा प्रदर्शन गरिने भन्ने विस्तृत कार्यक्रम भने क्यानले सार्वजनिक गरिसकेको छैन।

यसपटक नेपाल पनि टी–२० विश्वकप खेल्दैछ। नेपालले फेब्रुअरी ८ मा इङल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकप यात्राको सुरुवात गर्नेछ। ट्रफी टुरलाई नेपाली टोलीको विश्वकप सहभागितासँग जोडेर हेर्दा यसले नेपाली क्रिकेटमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी ल्याइएको थियो। त्यसबेला काठमाडौं र पोखरामा ट्रफी सार्वजनिक प्रदर्शनका लागि राखिएको थियो। तर, टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो।

यस विश्वकप ट्रफी टुरको औपचारिक सुरुवात डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट गरिएको छ। भारतको दक्षिणी समुद्री किनार नजिक रहेको राम सेतु माथि दुई सिटे प्यारामोटरमार्फत ट्रफी उडाइँदा कार्यक्रम अत्यन्तै आकर्षक बनेको थियो।

राम सेतु माथिबाट ट्रफी उडाउनुले भारत र श्रीलंकाबीचको सांस्कृतिक, ऐतिहासिक र भौगोलिक सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया