
अर्घाखाँचीको बोक्सेमा हातहतियार र विस्फोटक पदार्थ फेला
अर्घाखाँची- अर्घाखाँचीको शितगंगा नगरपालिका–११ बोक्से क्षेत्रमा वेवारिसे अवस्थामा ठूलो परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको नेतृत्वमा खटिएको गस्ती टोलीले बिहान करिब १० बजेतिर नियमित गस्तीका क्रममा बोक्सेस्थित पुरानो र प्रयोगविहीन गोठ (थारो) भित्र ती सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार घटनास्थलबाट भरुवा बन्दुक दुई थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, करिब २५ इन्च लम्बाइका प्लास्टिक पाइप (लन्चरजस्तो देखिने) तीन थान, पाँच लिटर क्षमताको प्रेशर कुकर बम एक थान, स्टिलको डल्लु बम एक थान, बिजुलीका तार चार बन्डल र करिब ५०० ग्राम बारुद बरामद गरिएको छ।
बरामद भएका सामग्रीमध्ये भरुवा बन्दुक बाहेकका सबै विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
