जेनजीको प्रदर्शनका क्रममा कारागारबाट भागेका व्यक्ति लागुऔषधसहित पक्राउ


काठमाडौं- लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका– ६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए । तर, गत २४ भदौमा सिन्धुलीमा भएको जेन–जी प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका तामाङ कारागारबाट भागी फरार भएका थिए । पछिल्लो समय उनले पुनः लागुऔषधको बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा चन्द्रागिरि नगरपालिका– १०, बलम्बु क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीले तामाङको साथबाट ठूलो मात्रामा लागुऔषधजन्य ‘इन्जेक्सन’समेत बरामद गरेको जनाएको छ । बरामद लागुऔषधमा डाइजोपाम इन्जेक्सन १५ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १८ थान तथा बुप्रेनोर्फिन इन्जेक्सन १७ थान रहेका छन् ।

 

 

प्रतिक्रिया