
क्यानडा–युएई पठाइदिने बहानामा रकम असुली गर्ने पक्राउ
काठमाडौं- बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार, पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा विदेश पठाउने बहानामा रकम असुली गरी सम्पर्कविहीन बनेका आरोपितलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि–४ निवासी ३७ वर्षीय ममता श्रेष्ठ रहेका छन्। उनले क्यानडा पठाइदिने भन्दै दुई पीडितबाट २३ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई बिहीबार चन्द्रागिरि–४ बाट पक्राउ गरिएको हो।
त्यसैगरी, काभ्रेपलाञ्चोक पाँचखाल–६ स्थायी घर भई हाल ललितपुर गोदावरी–१४ बस्ने ३० वर्षीय सरोज पोख्रेल पनि पक्राउ परेका छन्। उनमाथि युएई पठाइदिने बहानामा पीडितबाट ३ लाख ६४ हजार रुपैयाँ लिएको आरोप छ।
वैदेशिक रोजगार विभागले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
