
पुस मसान्तभित्र कांग्रेसले विशेष महाधिवेशन गर्नैपर्छ : गगनकुमार थापा
काठमाडाैं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले अब पार्टीमा विशेष महाधिवेशनको विकल्प नरहेको स्पष्ट पारेका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधरले बुझाएको स्मरणपत्रका क्रममा महामन्त्रीहरूले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन अनिवार्य भएको बताएका हुन्।
महामन्त्री थापाका अनुसार, विधानमा ४० प्रतिशत सदस्यको माग पूरा भएपछि विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको छ। उनले भने, “पुसभित्रै १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने थियो। त्यो नगरेपछि अब विशेष महाधिवेशन अनिवार्य छ। कसरी गर्ने भन्ने विषयमा अब केन्द्रीय कार्यालयमा छलफल गरेर टुंगोमा पुग्नेछौँ।”
विशेष महाधिवेशन मागकर्ताहरूले गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर सहित यो माग पेश गरेका थिए। थापा र शर्मा दुवै महामन्त्रीले विधानअनुसार ५४ प्रतिशत हस्ताक्षर प्राप्त भएपछि यसलाई रोक्न नहुने र कार्यसम्पादन समितिमा आवश्यक प्रस्ताव राखिने बताए।



कागजपत्र |
