एनआरएन अस्ट्रेलियाको कार्यालय मेलवर्नमा


सिड्नी – एनआरएन अस्ट्रेलियाले मेलवर्नमा आफ्नो कार्यालय स्थापना गरेको छ। गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको कार्यालय मेलवर्नको कोबर्गमा शनिबार एक औपचारिक कार्यक्रमबीच संघीय सांसद पिटर खलील र एनआरएनका संरक्षक शेष घलेले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

सन् २००५ मा स्थापना भएको संस्थाका १२ हजारभन्दा बढी सदस्य भइसक्दा पनि आफ्नै कार्यालय थिएन। गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले यसलाई चुनावी एजेन्डामा समेत प्रस्तुत गरेको थियो।

कार्यालयको उद्घाटन गर्दै लेबरका सांसद खलीलले एनआरएनको कार्यालय स्थापनाले अस्ट्रेलियाको नेपाली समुदायको अन्तर सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा संस्थाका संरक्षक शेष घलेले गैरआवासीय नेपाली संघको यो अभियानले एनआरएनको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सिड्नीको एसफिल्ड पार्कबाट सुरू भएको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको यात्रा यतीिखेर नयाँ मोडमा पुगेको बताए। ‘अब हाम्रो आफ्नै कार्यालय छ। यो ठेगाना भएपछि यहाँका सरकारी निकायहरूले हामीलाई हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन होला जस्तो लाग्छ। विश्वसनीयता वृद्धि भएर जान्छ भन्ने हाम्रो अपेक्षा छ’, उनले बताए ।

कार्यालय सुरूमा हरेक दिन निश्चित समय खुल्नेछ। यसका लागि स्वयंसेवकको व्यवस्था गरिएको छ। तर, केही समयपछि नै स्टाफ नै राखेर कार्यालय सञ्चालन अघि बढाउने योजना रहेको कँडेलले बताए। कार्यालय सञ्चालनको ५० प्रतिशत एनसिसीले र ५० प्रतिशत एससिसीले व्यहोर्ने उनले बताए।

एनआरएन अस्ट्रेलियाको कार्यालय सञ्चालन गर्ने योजना पाइलट प्रोजेक्ट भएको महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए। ‘एनसिसी र एससिसीको साझेदारीमा सन् २०२१ भित्र कम्तीमा पनि सिड्नी, ब्रिसबेन, एडिलेडलगायतमा कार्यालय स्थापना गर्ने हाम्रो लक्ष्य छ,’ रेग्मीले बताए।

प्रतिक्रिया