२४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि, १५१ जना संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

छिमेकी मुलुक भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तथ्यांकमा देखिएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो ।

यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

यस्तै पछिल्लो २४ घण्टमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १५१ जना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।

 

प्रतिक्रिया