
डडेल्धुरा कारागारका कैदीबन्दी आन्दोलनमा
डडेल्धुरा- डडेल्धुरा कारागारका कैदीबन्दीहरू विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। बन्दीगृहभित्र नाराबाजी गर्दै उनीहरूले आफ्ना मागको सुनुवाइ नभए आन्दोलनलाई उग्र बनाउने र अनसन बस्ने चेतावनी दिएका छन्।
कैदीबन्दीका अनुसार वैशाखदेखि असोजसम्म प्रयोग हुने मौसमी कपडाबापतको रकमका लागि दुई महिना अघि नै भरपाईमा दस्तखत गरिए पनि हालसम्म रकम प्राप्त भएको छैन। त्यसैगरी, २०८० सालदेखि कामदारी सुविधा नपाएको, सरसफाइ सामग्री तथा अन्य अत्यावश्यक सामान आफ्नै खर्चमा किन्न बाध्य हुनुपरेको उनीहरूको गुनासो छ।
भेटघाट कक्ष हुँदाहुँदै पनि परिवारसँग सहज भेटघाट गर्न नदिइएको, घरबाट ल्याइने खानेकुरामा रोक लगाइएको, गुनासो गर्दा धम्की र कुटपिट हुने गरेको तथा बिरामी पर्दा स्वास्थ्य उपचारमा समेत बेवास्ता गरिएको आरोप कैदीबन्दीहरूले लगाएका छन्। माटो सफाइका लागि आएको १० लाख रुपैयाँको काम आफूहरूबाट गराइए पनि पारिश्रमिक नदिएको दाबी उनीहरूको छ।
जिल्ला प्रशासन कार्यालयमा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूले बताएका छन्। कारागारभित्र आर्थिक चलखेल भइरहेको आरोप लगाउँदै केही कर्मचारीको नामसमेत उनीहरूले सार्वजनिक गरेका छन्।
यता, कारागार प्रमुख (जेलर) सन्तोष भट्टले कैदीबन्दीहरूले लगाएका सबै आरोप अस्वीकार गरेका छन्। उनले यस वर्ष बजेट अभावका कारण कपडा भत्ता उपलब्ध गराउन नसकिएको बताए। उनका अनुसार गत वर्ष प्रतिव्यक्ति ४ हजार रुपैयाँ कपडा भत्ता दिइएको भए पनि यसपटक उपलब्ध बजेटले प्रतिव्यक्ति ३ हजार रुपैयाँ मात्र दिन सकिने अवस्था छ। “कैदीबन्दीहरूले ४ हजार रुपैयाँकै माग गरेपछि समस्या आएको हो,” उनले स्पष्ट पारे।
सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले नियमअनुसार जाडो कपडाबापत प्रतिव्यक्ति ४ हजार रुपैयाँ दिनुपर्ने व्यवस्था रहेको जानकारी दिए। तर कारागारका लागि छुट्याइएको कुल बजेट ३ लाख ५० हजार रुपैयाँ मात्र भएकाले रकम अपुग भएको उनले बताए। उनले मन्त्रालय र विभागमा थप बजेट निकासाका लागि पहल भइरहेको जानकारी दिए।
हाल डडेल्धुरा कारागारमा १३२ जना कैदी तथा थुनुवा रहेका छन्।



कागजपत्र |
