
जेनजी आन्दोलनमा लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला
झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको म्याग्जिन र गोली झापाको चिया बगानमा फेला परेको छ ।
आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाँगीस्थित एक चिया बगानमा ईन्सास राइफलको एक थान म्याग्जिन र मार्का थ्री राइफलका तीन राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर ती सामग्री बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनीको जिन्सी भण्डार कक्षबाट लुटेर लगिएको अभिलेखसँग मिलेको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
