ईशानका हत्यारा पक्राउको माग गर्दै रुद्रपुर प्रहरी कार्यालय घेराउ


बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिका–३, धौलागिरि चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव नालीमा भेटिएको तेस्रो दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन ।

हत्यारा पक्राउको मागसहित आइतबार टोल विकास संस्था, आमा समूहलगायत स्थानीयले इलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्। स्थानीयहरू स्वतःस्फूर्त रूपमा प्रहरी कार्यालय घेराउ गर्न पुगेका ईशानका बुवा पुष्पराज शर्माले जानकारी दिए ।

पोस्टमार्टममा टाउकोमा लागेको चोटका कारण आन्तरिक र बाह्य रगत बग्दा मृत्यु भएको देखिएको चिकित्सकले बताएका उनले जनाए ।

प्रहरीका अनुसार, ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए । पछि घरभन्दा करिब १५० मिटर पर नालीमा उनको शव फेला परेको थियो । टाउकोमा पछाडिपट्टि चोट थियो । घटनास्थलमा रगत देखिएको थिएन ।

प्रतिक्रिया