
बझाङको खेल मैदान हिनामिनामा ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट, सब इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। उनीहरूलाई गाउँपालिकालाई गैरकानुनी हानि पुर्याएको आरोप लगाइएको छ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, बित्थडचिर गाउँपालिका वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा कमसल निर्माण सामग्री प्रयोग गरिएको, प्राविधिक रुपमा डीपीआर नगरी काम गरिएको र रकम हिनामिना भएको उजुरी प्राप्त भएको थियो। सो उजुरीको आधारमा गरिएको अनुसन्धानमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टसहित ६ जनाको मिलेमतोमा १४ लाख ६६ हजार ५०३ रुपैयाँ हिनामिना भएको खुलेको अख्तियारको ठहर छ।
उक्त रकम बराबर उनीहरूविरुद्ध जनही बिगो माग गरिएको छ। साथै, खेल मैदान निर्माणको नाममा झुट्टा नापी किताब, बिल तथा अन्य कागजात बनाइ/बनाउन लगाइ बढी तथा दोहोरो भुक्तानी लिएको आरोप पनि उनीहरूमाथि छ।



कागजपत्र |
