
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ
काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई मंगलबार काठमाडौंको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार ५० वर्षीय तामाङ लामा ‘विश्वक्रान्ति’, ‘कुमार’ र ‘देवराज लामा’ नामले समेत चिनिँदै आएका छन्। उनी विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार देखिएपछि पक्राउ परेका हुन्।
लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका उनलाई प्रहरीले अनुसन्धानपछि अभियोजन गरेको थियो। सोही मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि उनले नख्खु कारागारमा सजाय भुक्तान गरेका थिए।
कारागारमा सजाय पूरा गरेपछि लामा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए। तर, रिहाइपछि पनि उनीविरुद्ध पाँचथर जिल्लामा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०६९ साल असार महिनामा पाँचथरको भुसपाते क्षेत्रमा लामा विस्फोटक पदार्थसहित पक्राउ परेका थिए र त्यसबेला उनलाई काठमाडौं पठाइएको थियो। सोही घटनासँग सम्बन्धित मुद्दामा उनी लामो समयदेखि फरार रहेको सीआईबीले जनाएको छ।
पाँचथरमा दर्ता मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सीआईबीले लामालाई त्यहीँ पठाइसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
