नाला किनारमा नवजात शिशु फाल्ने आमाको पहिचान, श्रीमान् विदेशमा


कैलाली- धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नाला किनारमा झाडीमा फालिएको अवस्थामा फेला परेको नवजात शिशुको आमाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शिशुको आमा विवाहित महिला रहेको पुष्टि गर्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी महिला करिब २९/३० वर्षीया राममति राना हुन्। उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। प्रहरी सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार महिलाले हिजो मात्रै उक्त शिशुलाई जन्म दिएको स्वीकार गरेकी छन्।

प्रसव पीडाका कारण महिलाको स्वास्थ्य अवस्था सामान्य नरहेकाले हाल विस्तृत सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। नवजात शिशु झाडीमा फाल्नुको वास्तविक कारण सोधपुछपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।

 आज बिहान स्थानीयवासीले धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले तत्काल शिशुको उद्धार गरी सेती प्रादेशिक अस्पतालमा पठाएको थियो। प्रहरीका अनुसार शिशुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आमासँगको सोधपुछपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया