अछाममा सुस्त मानसिक अवस्थाकी किशोरी बलात्कृत, १९ वर्षीय युवक पक्राउ


अछाम- अछाममा एक किशोरीलाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको ढकारी गाउँपालिका–२, बलातीबाडा कालिकास्थानका १९ वर्षीय पुष्प साउदलाई जबर्जस्ती करणीसम्बन्धी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

१७ वर्षीया सुस्त मानसिक अवस्थाकी किशोरीमाथि करणी भएको उजुरी दर्ता भएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो।

बालिकालाई पेट दुखेपछि २०८२ असोज १९ गते उपचारका लागि अस्पताल लगिएको थियो। सो क्रममा चिकित्सकले उनको गर्भ २९ हप्तामा पुगेको पुष्टि गरेका थिए।

गर्भवती भएको तथ्य बाहिर आएपछि आमाबुबाले सोधपुछ गर्दा २०८२ जेठ १४ गते बाँझो खर्क क्षेत्रमा साउदले किशोरीमाथि करणी गरेको घटना खुलेको प्रहरीको भनाइ छ।

पीडित पक्षले २०८२ मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गरेपछि प्रहरी चौकी ढकारीबाट खटिएको टोलीले हिजो राति करिब २०:४० बजे साउदलाई घरमै पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साउदलाई हिरासतमा राखी जबर्जस्ती करणीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया