
तन्त्रमन्त्र गरेर छोरीलाई बिरामी पारेको भन्दै सुपारी दिएर अटो चालकको हत्या
सुनसरी– तन्त्रमन्त्र गरी छोरीलाई बिरामी पारेको अन्धविश्वासकै आधारमा सुपारी दिएर सुनसरीमा एक सफारी चालकको हत्या गराइएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। रामधुनी नगरपालिका–२ का ४५ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीको असोज २५ गते साँझ गोली हानी हत्या गरिएको थियो।
सुनसरी प्रहरीका अनुसार चौधरीले आफ्नी छोरीलाई तन्त्रमन्त्र लगाएर बिरामी पारेको शंका गर्दै राजेश साहले हत्या गर्ने योजना बनाएका थिए। सोही योजनाअनुसार उनले सुटरलाई सुपारी दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सात जनालाई सोमबार इनरुवामा सार्वजनिक गर्दै प्रहरीले घटनाको विवरण सार्वजनिक गरेको हो।
प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफारी चलाइरहेका चौधरी उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा रामधुनी नगरपालिका–२ मै बायाँ छातीमा गोली प्रहार गरिएको थियो। उनलाई उपचारका लागि लगिएको तर बचाउन नसकिएको प्रहरीले जनाएको छ।
प्रहरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामा राजेश साह (हत्या योजनाकार), नन्दकिशोर साह, मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन्।
राजेश साहले प्रहरी बयानमा चौधरीले तन्त्रमन्त्र गरी आफ्नी छोरीलाई बिरामी पारेको दाबी गर्दै हत्या गराउन ६ लाख ५० हजार रुपैयाँ सुपारी दिएको स्वीकार गरेको प्रहरीले बताएको छ।
सुटर मोहम्मदले तीमध्ये ३ लाख रुपैयाँ पेस्की लिएको पनि प्रहरीले पुष्टि गरेको छ।



कागजपत्र |
